घटस्थापना
नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ-आफ्नै परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्राय: सबै जातजाति र जनसमुदायले मनाउँछन्। नेपालीहरूको महान् चाड भएकैले यसलाई ‘बडादसैं’ भनिएको हो। यस पर्वको धार्मिक, आध्यात्मिक, पारिवारिक, सामाजिक, सांस्कृतिक एवं राष्ट्रियताका हिसाबले उत्तिकै महत्त्व छ। दसैं भन्नासाथ सबैको मनमा एक किसिमको आनन्द सञ्चार हुन्छ। मीठो खाने र राम्रो लाउने अवसरका साथ यो पर्वले घरघरमा, जनजनमा र मनमनमा उत्साह र उमंग निम्त्याएको हुन्छ। साधक तथा उपासकहरूका लागि यो भगवतीको आराधना गरेर शक्ति आर्जन तथा अभीष्ट सिद्धि गर्ने समय हो। गाउँ–सहर तथा समाजका लागि सरसफाइ, विकास निर्माण, भेटघाट, मेला, उत्सव एवं मनोरञ्जन गर्ने अवसर समेत बडादसैंले जुटाउने गर्दछ।
प्रत्येक वर्ष आश्विन महिनाको शुक्ल पक्षभरि मनाइने पर्व दसैं हो। दसैं लागेपछि घरको सरसफाइ, लिपपोत र विशेष साजसज्जा गरिन्छ। आश्विन शुक्लपक्षको प्रतिपदा तिथिमा नवदुर्गालाई आवाहन गरेर घटस्थापना गरी घर–घरमा दसैं भित्र्याइन्छ। नौ दिनसम्म नवदुर्गा भवानीको पूजा–आराधना गरेपछि दशमीका दिन भगवतीलाई विसर्जन गरी मान्यजनका हातबाट भगवतीको प्रसाद टीका र जमरा लगाई आशीर्वाद थापिन्छ। अनि कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी रातभरि जाग्राम बसेपछि विधिवत् दसैं पर्वलाई बिदाइ गरिन्छ।
पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे।
गृहे गृहे शक्तिपरैर्ग्रामे ग्रामे वने वने।।
स्नातैः प्रमुदितैर्हृष्टैर्ब्राह्मणैः क्षत्रियैः नृपैः।
वैश्यैः शूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्च मानवैः।।

Happy Bijaya Dasai

Comments

Popular posts from this blog

VISIT NEPAL YEAR 2020

Indra Jatra 13 Sep 2019

Happy Tamu Lhosar 2076